काठमाडौं, साउन १३ गते ।
अत्यधिक वर्षासँगै गएको पहिरोका कारण समुन्द्रटार–त्रिशूली ३बी १३२ केभी प्रसारण लाइनको टावर नम्बर ४१ क्षतिग्रस्त भएको छ । टावरमा क्षति पुगेपछि प्रसारण लाइन प्रभावित बनेको हो ।
टावर क्षतिग्रस्त बनेसँगै सोही प्रसारण लाइनमार्फत राष्ट्रिय ग्रिडमा जोडिएका ११ मेगावाट क्षमताको सूर्यकुण्ड हाइड्रोपावर र ५ मेगावाट क्षमताको बुद्धभूमि हाइड्रोपावरको विद्युत प्रवाह (पावर इभाकुएसन) मा कठिनाइ उत्पन्न भएको छ ।
यद्यपि, प्रसारणलाइनमा समस्या आए पनि उपभोक्ताहरूका लागि भने विद्युत् आपूर्ति रोकिने छैन ।
प्राविधिक टोलीले चौगाडा सबस्टेसनबाट वैकल्पिक व्यवस्था मिलाएर ग्राहक वर्गलाई निरन्तर बिजुली उपलब्ध गराइरहेको जानकारी दिएको छ । क्षतिग्रस्त टावरको मर्मत तथा सुदृढीकरणको काम छिट्टै अघि बढाइने बताइएको छ ।





