काठमाडौं, साउन १३ गते ।
सभामुख डोलप्रसाद (डीपी) अर्याल र राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालबीच भेटवार्ता भएको छ ।
सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा भएको भेटवार्तामा संसद्को प्रभावकारी सञ्चालनबारे छलफल भएको सभामुखको सचिवालयले जनाएको छ ।
साथै, संघीय संसद्का समसामयिक विषय, संसद्को प्रभावकारी सञ्चालन, विधायन प्रक्रियालाई थप सुदृढ बनाउने विषयमा पनि छलफल भएको छ ।
संघीय संसद्को दुई साता लामो बैठक स्थगित भएको थियो । स्थगित भएपछि बिहीबारबाट प्रतिनिधिसभाको बैठक सुरु हुँदैछ ।
यसबीचमा बुधबार मात्रै सरकारले विभिन्न ९ वटा विधेयकलाई संघीय संसद्समक्ष पेस गर्नका लागि स्वीकृत दिने निर्णय गरेको छ ।
सरकारका प्रवक्ता सस्मित पोखरेलका अनुसार संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक सेवाको सर्त र सुविधासम्बन्धी ऐन २०५३ लाई संशोधन गर्न बनेको विधेयक आउँदैछ ।
खानी तथा खनिज पदार्थ सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, संक्रामक पशु रोग तथा नियन्त्रण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पनि संसद्मा पेस गर्ने गरी मन्त्रिपरिषद्बाट स्वीकृत भएको छ ।
राहदानी ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयक, मानव वेचविखन तथा ओसारपसार नियन्त्रण, पहिलो संशोधन विधेयक, बालश्रम निषेध तथा नियमित गर्न बनेको सम्बन्धी विधेयक पनि संसद्मा पेस हुनेछन् ।
आन्तरिक वायुसेवाको दायित्वसम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, मेलमिलापसम्बन्धी ऐन २०६८ लाई संशोधन गर्न बनेको विधेयक र कर्मचारी संशोधन ऐन २०१९ लाई संशोधन गर्न बनेको विधेयक पनि संसद्मा पेस गर्ने गरी मन्त्रिपरिषद्बाट स्वीकृत भएको छ ।
यो पृष्ठभूमिमा सभामुख अर्याल र राष्ट्रिय सभाका अध्यक्ष दाहालबीच भेटवार्ता भएको हो ।





