राष्ट्रपतिसँग प्रधानमन्त्रीको भेटवार्ता



गौशाला, साउन १४ गते ।

प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन् । केहीबेरअघि राष्ट्रपति भवन शीतलनिवासमा उनीहरूबीच भेटवार्ता भएको हो ।

भेटमा प्रधानमन्त्री शाह र राष्ट्रपति पौडेलबीच मुलुकको समसामयिक विषयवस्तुका साथै पछिल्लो विकसित परिस्थितिबारे छलफल भएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

प्रधानमन्त्री शाहले राष्ट्रका नाममा सम्बोधन गरेलगत्तै शीतलनिवास पुगेर राष्ट्रपति पौडेलसँग भेट गरेका हुन् ।

राष्ट्रपति पौडेलले प्रधानमन्त्री शाहसँग मुलुकका विभिन्न भागमा भएको विषम घटना र परिस्थितिका बारेमा जानकारी लिएका थिए ।

देशका विभिन्न भागमा हिंसात्मक घटना बढ्दै गएपछि राष्ट्रपति पौडेलले प्रधानमन्त्री शाहलाई आज शीतलनिवास बोलाएर अवस्थाबारे चिन्ता र चासो व्यक्त गरेको राष्ट्रपतिका प्रेस सल्लाहाकार किरण पोखरेलले जानकारी दिए ।

राष्ट्रपति पौडेललाई प्रधानमन्त्री शाहले शान्ति सुव्यवस्था कायम गर्न सरकारबाट भइरहेको प्रयासबारे जानकारी गराएका थिए । सो अवसरमा राष्ट्रपति पौडेलले राजनीतिक दललगायत सबै पक्षलाई साथमा लिएर संयमतापूर्वक स्थितिलाई साम्य पार्न एवं सद्भाव कायम गर्न सुझाव दिएका थिए ।

Scroll to Top