द पब्लिक टुडे
बर्दिबास, साउन १७ गते ।
देशमा शान्ति, सामाजिक सद्भाव र धार्मिक सहिष्णुताको कामना गर्दै गृहमन्त्री सुधन गुरुङले आइतबार महोत्तरीको बर्दिबास नगरपालिका–५ स्थित टुटेश्वरनाथ महादेव मन्दिरमा विशेष पूजा–अर्चना गरेका छन् ।
‘नेपालको बाबाधाम’ तथा ‘मधेशको कैलास’का रूपमा परिचित टुटेश्वरधाम पुगेका गृहमन्त्री गुरुङले विधिपूर्वक पूजा–अर्चना गरी दर्शन गरेका थिए । त्यसपछि उनले साउन महिनाभर सञ्चालन भइरहेको धार्मिक मेलाको सुरक्षा व्यवस्था, भीड व्यवस्थापन र श्रद्धालुलाई उपलब्ध गराइएका सेवासुविधाबारे जानकारी लिएका थिए ।
मन्दिर व्यवस्थापन समितिका अध्यक्ष राजाराम यादवका अनुसार मन्दिरका मुख्य पुजारी श्रीचन दासले गृहमन्त्रीबाट विशेष पूजा सम्पन्न गराएका हुन्। भ्रमणका क्रममा गृहमन्त्रीलाई टुटेश्वरनाथ महादेव मन्दिरको धार्मिक, ऐतिहासिक तथा पुरातात्त्विक महत्वबारे जानकारी गराइएको थियो ।

मन्दिरको संरक्षण, प्रवर्द्धन र विकासका लागि पुरातात्त्विक अध्ययन आवश्यक रहेको विषयमा पनि गृहमन्त्रीको ध्यानाकर्षण गराइएको अध्यक्ष यादवले बताए । उनले धार्मिक पर्यटनको सम्भावना अझै उजागर गर्न राज्यको पहल आवश्यक रहेको धारणा समेत राखे ।
साउन महिनाभर टुटेश्वरनाथ महादेव मन्दिरमा नेपाल र भारतका विभिन्न स्थानबाट लाखौं श्रद्धालु जल चढाउन आउने गर्छन्। यस अवधिमा लाग्ने धार्मिक मेलाले टुटेश्वरधामलाई मधेशकै प्रमुख धार्मिक तथा पर्यटकीय गन्तव्यका रूपमा स्थापित गरेको छ ।
मन्दिर दर्शनपछि गृहमन्त्री गुरुङ टुटेश्वरधाम परिसरस्थित श्री रत्न छोलिङ गुम्बामा पनि पुगेका थिए। त्यहाँ उनले गौतम बुद्धको प्रतिमामा श्रद्धाञ्जली अर्पण गर्दै देशमा स्थायी शान्ति र सामाजिक सद्भाव कायम रहोस् भन्ने कामना गरेका थिए ।

गृहमन्त्री गुरुङसँगै प्रतिनिधिसभा सदस्य प्रमोदकुमार महतो, शिवकुमार यादव र राजकिशोर महतो, महोत्तरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवलगायत सुरक्षा निकाय तथा स्थानीय प्रशासनका अधिकारीहरू पनि टुटेश्वरधाम पुगेका थिए ।






