नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक पुनः बस्दै



काठमाडौँ, साउन २५ गते ।

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सोमबार अपराह्न १ बजे पुनः बस्ने भएको छ। आइतबार ललितपुरको सानेपास्थित बीपी स्मृति भवनमा सुरु भएको बैठकमा सबै विषय टुंगिन नसकेपछि सोमबारका लागि पुनः तय गरिएको हो ।

आइतबार बसेको बैठकमा पार्टीको १५औँ महाधिवेशनको तयारी, सरकारका गतिविधि र प्रदेश सरकारमा विकसित राजनीतिक परिस्थितिसम्मका विषयमा छलफल सुरु भएको थियो । पार्टी सभापति गगनकुमार थापाको सभापतित्वमा बसेको बैठकमा सभापति थापाले समसामयिक राजनीतिक विषय र प्रस्ताव केन्द्रित विषयवस्तुबारे जानकारी गराएका थिए । त्यसैगरी महामन्त्री प्रदीप पौडेलले छलफलका लागि विभिन्न प्रस्ताव प्रस्तुत गरेका थिए ।

बैठकमा १५औँ महाधिवेशनको तयारी, नियमावली तथा निर्वाचन निर्देशिका, सदस्यता अद्यावधिक र वितरणका साथै महाधिवेशन तयारी समिति र विधान मस्यौदा समिति गठनलगायत विषयलाई छलफलका लागि अघि सारिएको छ । प्रचारप्रसार, भोजन तथा आवास, मञ्च व्यवस्थापनलगायत उपसमिति गठन र केन्द्रीय कार्यसम्पादन समितिका निर्णय अनुमोदन गर्ने विषय पनि बैठकका एजेन्डामा रहेका छन् ।

पछिल्लो समय तराई–मधेशमा भएका घटनाक्रम र सामाजिक सद्भाव कायम गर्ने विषयमा समेत छलफल सुरु भएको छ । सरकारका १०० दिनपछिका गतिविधि तथा प्रमुख प्रतिपक्षी दलका रूपमा संसद् र संसद् बाहिर कांग्रेसको भूमिकाका विषयमा पनि छलफल हुनेछ ।

त्यसैगरी प्रदेश सरकारमा विकसित राजनीतिक परिस्थिति, सदस्यता व्यवस्थापनसम्बन्धी केन्द्रीय समितिको निर्णय अनुमोदन, नेपाली जनसम्पर्क समिति, समसामयिक राजनीतिक विषय तथा भ्रातृ संस्थाहरूको विधानसम्बन्धी विषय पनि बैठकका एजेन्डामा समेटिएका छन् ।

Scroll to Top