समुद्री आँधीका कारण १० लाखभन्दा बढी मानिस विस्थापित



साङ्घाई, साउन २५ गते ।

शक्तिशाली समुद्री आँधी ‘टाइफुन डल्फिन’ आइतबार साँझ तटमा ठोक्किएपछि साङ्घाईसहित पूर्वी चीनका १० लाखभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारिएको छ ।

मौसम पूर्वानुमान अधिकारीहरूका अनुसार स्थानीय समय अनुसार बेलुका ५ः३० बजे जिजियाङ प्रान्तको युहुआनमा १५० किलोमिटर प्रतिघण्टाको गतिमा आँधी ठोक्किएको थियो ।

त्यसको करिब एक घण्टतापछि आँधी दोस्रो पटक वेन्झाउ सहरमा पुगेको थियो । आँधीका कारण यस क्षेत्रको यातायात सेवा ठप्प भएको छ । साङ्घाईमा मात्रै १,४०० भन्दा बढी उडानहरू रद्द गरिएका छन् ।

चिनियाँ अधिकारीहरूले यसअघि डल्फिन आँधीलाई लिएर सबैभन्दा उच्च तहको रातो चेतावनी जारी गरेका थिए । सोमबार बिहान भने यसलाई घटाएर ट्रपिकल स्टर्ममा राखिएको छ ।

आँधी थप भित्री भागतर्फ अघि बढिरहेको छ । अधिकारीहरूले बुधबारसम्म ठुलो वर्षा, भीषण बाढी र पहिरोको जोखिम कायमै रहेको चेतावनी दिएका छन् । सोमबार सान्डोङ, हेनान, हुबेई, एन्हुई, जियाङ्सु, जिजियाङ प्रान्त र साङ्घाई सहरमा भारी वर्षाको प्रक्षेपण गरिएको छ ।

स्थानीय सरकारहरूले मानिसहरूलाई घरबाहिरका गतिविधि नगर्न आग्रह गरेका छन् । डिज्नील्याण्ड र लेगोल्याण्डका केही भागहरू साथै साङ्घाईको द बन्डका अवलोकन स्थलहरू लगायत धेरै मुख्य पर्यटकीय स्थलहरू बन्द गरिएका छन् । एजेन्सी

Scroll to Top