भदौ १२ गते गोसाइँकुण्डमा मेला, व्यवस्थापकीय तयारी सुरु



रसुवा, साउन २६ गते ।

जनैपूर्णिमाका दिन पवित्र तीर्थस्थल गोसाइँकुण्डमा हरेक वर्ष लाग्ने धार्मिक मेलालाई सहज र सफल बनाउने व्यवस्थापकीय तयारी सुरु भएको छ । यसवर्ष मेलाको व्यवस्थापनका लागि ११ वटा उपसमिति गठन गरेर काम थालेका छन् ।

लाङ्टाङ राष्ट्रिय निकुञ्जको अगुवाइमा सरसफाइ तथा वातावरण संरक्षण, स्वयंसेवक परिचालन, स्वास्थ्य सेवा, प्रचार–प्रसार, यातायात व्यवस्थापन, आर्थिक, समन्वय तथा आन्तरिक व्यवस्थापन, सुरक्षा, दररेट निर्धारण समितिलगायत ११ वटा उपसमिति गठन गरिएको छ ।

निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार आगामी भदौ १२ गते जनैपूर्णिमाका अवसरमा लाग्ने प्रसिद्ध धार्मिक तीर्थ गोसाइँकुण्ड मेला भर्न आउने श्रद्धालु भक्तजनको यात्रा सहज, सफल र सुरक्षित बनाउने उद्देश्यले गठन भएका उपसमितिहरूले काम सुरु गरेका छन् । यसैगरी स्थानीय तह र समुदाय, सुरक्षा निकाय, स्वास्थ्य संस्थाबीच समन्वयसहित सहकार्य भइरहेको छ ।

धार्मिक पैदलमार्गको मर्मतसम्भार तथा सरसफाइ, होटल तथा लजको सुदृढीकरण, खाना–नास्ता र खानेपानीको व्यवस्थापन, स्वास्थ्य शिविर सञ्चालनसहित उद्धार तथा राहत व्यवस्थापनसँग सम्बन्धित काम अघि बढेको गोसाइँकुण्ड गाउँपालिका–६ का वडाध्यक्ष दावा सिदार तामाङले जानकारी दिए ।

लेक लाग्ने समस्यालाई मध्यनजर गर्दै अक्सिजनसहितको चिकित्सक टोली गोसाइँकुण्डमा तैनाथ गरिने भएको छ ।

हिमालय उद्धार सङ्घका कार्यकारी निर्देशक गोविन्द बत्यालका अनुसार स्थानीय जिल्ला स्वास्थ्य कार्यालय, लाङ्टाङ राष्ट्रिय निकुञ्ज, जिल्ला प्रशासन कार्यालय, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, गोसाइँकुण्ड क्षेत्र विकास समिति, सञ्चारकर्मी तथा नागरिक समाजसँगको समन्वयमा स्वास्थ्य उपचार तथा उद्धार, सुरक्षा, प्रचारप्रसारलगायतका काम गरिने छ ।

गोसाइँकुण्ड गाउँपालिकाका अध्यक्ष कैसाङ नुर्पु तामाङले मौसममा आउने प्रतिकूलताका आधारमा कुनै तीर्थयात्री गम्भीर बिरामी परेमा सम्भव हुनेमा सवारीसाधन र त्यसबाट नभए हेलिकोप्टर समेत प्रयोग गरी निस्शुल्क रुपमा बिरामीको उद्धार गरिने प्रतिबद्धता व्यक्त गरे ।

समुद्री सतहबाट चार हजार तीन सय ८० मिटर उचाइमा अवस्थित पवित्र गोसाइँकुण्डमा जनैपूर्णिमाका दिन स्नान, पूजा र दर्शन गर्नाले सम्पूर्ण देवदेवताको एकैसाथ दर्शन गरी पुण्य प्राप्त हुने धार्मिक विश्वाससहित नेपाल तथा भारतलगायत विभिन्न स्थानबाट उल्लेख्य सङ्ख्याका भक्तजन हरेक वर्ष गोसाइँकुण्ड पुग्ने गरेका छन् ।

काठमाडौंबाट यात्रा सुरु गरी पहिलो दिन रसुवाको देउराली र दोस्रो दिन गोसाइँकुण्ड पुग्न सकिने भएकाले गोसाइँकुण्ड प्रमुख धार्मिक गन्तव्यका रूपमा परिचित भई पहिलो रोजाइमा परेको भक्तजन सोनाम ग्याल्वो घलेले जानकारी दिए ।

मेला नजिकिँदै जाँदा स्थानीय होटल तथा व्यवसायीहरूले खाद्यान्न, दैनिक उपभोग्य सामग्री र आवश्यक सामान ढुवानी सुरु गरिसकेका छन् । होटल व्यवसायी पासाङ घ्युर्मी तामाङका अनुसार तीर्थयात्रीको चापलाई ध्यानमा राखी खाद्य सामग्रीको पर्याप्त व्यवस्थाका लागि ढुवानी कार्य सुरु भइसकेको छ । पैदलमार्गमा २०० वटा ९थर्कु० छाप्रा बनाउने काम सुरु भएको वडाध्यक्ष तामाङले जानकारी दिए ।

धार्मिक आस्था, प्राकृतिक सौन्दर्य र हिमाली सभ्यताको अनुपम सङ्गमका रूपमा परिचित गोसाइँकुण्डमा यस वर्ष पनि हजारौँ श्रद्धालुको उपस्थिति रहने अपेक्षा गरिएको गोसाइँकुण्ड क्षेत्र विकास समितिका अध्यक्ष सञ्जिव डिएमले बताए ।

यसैबीच, रसुवाका प्रमुख जिल्ला अधिकारी नरेन्द्र परियारले गोसाइँकुण्ड मेला भर्न आउने यात्रुलाई आवश्यक सुरक्षा एवं उद्धारको आवश्यक व्यवस्था गरिएकाले निर्धक्क भई यात्रा गर्न अनुरोध गरेका छन् ।

Scroll to Top