स्रोत नखुलेको रकमसहित गौशालाका जगन्नाथ सर्लाहीमा पक्राउ



द पब्लिक टुडे
गौशाला, साउन २६ गते ।

सर्लाही प्रहरीले स्रोत नखुलेको ५१ लाखभन्दा बढी नगदसहित एकजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा महोत्तरीको गौशाला नगरपालिका–१२ बस्ने ५७ वर्षीय जगन्नाथ महतो कोइरी रहेको प्रहरीले जनाएको छ । उनलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट खटिएको प्रहरीले ब्रह्मपुरी गाउँपालिका–२ राजदेवी मन्दिरअगाडिबाट स्रोत नखुलेको नगद ५१ लाख ३४ हजार रूपैयाँसहित जगन्नाथलाई पक्राउ गरेको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ ।

सर्लाहीको भेल्हीबाट वयलबासतर्फ जाँदै गरेको ज १० प ८६५२ नम्बरको स्कुटर तलासी गर्दा उक्त नगद फेला पारी चालक जगन्नाथलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

Scroll to Top