काठमाडौं, साउन २७ गते ।
प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिले नेपाल प्रहरीको पोसाक तथा सामाग्री खरिदमा भएको भनिएको अनियमितताबारे छलफल गर्न थालेको छ ।
बुधबार बसेको समिति बैठकले १५ दिनभित्र प्रहरीको पोसाक तथा अन्य सामग्री खरिदको विवरण पेस गर्न निर्देशन जारी गरेको छ ।
यसअनुसार नेपाल प्रहरी, सशस्त्र प्रहरी र निर्वाचन प्रहरीको पोसाक तथा अन्य सामग्री खरिदको विवरण सरकारले १५ दिनभित्र संसद्को सार्वजनिक लेखा समितिमा पेस गर्नुपर्ने हुन्छ ।
लेखा समितिले पोसाक तथा अन्य सामाग्री खरिदको आन्तरिक, प्राविधिक तथा आर्थिक मूल्यांकन सम्झौता, आपूर्ति गुणस्तर परीक्षणको विवरण, बिल तथा भुक्तानी विवरण माग गरेको हो ।
विगतमा खरिद गरेका सामान प्रकृतिका सामाग्रीको विवरण र हालको विवरणसहितका आवश्यक कागजात १५ दिनभित्र पेस गर्न समितिले निर्देशन जारी गरेको हो ।
यस्तो निर्देशन जारी गर्नु अगाडि समितिमा यो विषयमा छलफल भएको थियो । छलफलमा प्रहरी प्रमुख तथा गृह मन्त्रालयका अधिकारीहरू उपस्थित थिए ।





