धनगढी, साउन २९ गते ।
सुदूरपश्चिम प्रदेशमा राज्यमन्त्रीसहित एमालेका ४ जना मन्त्रीले पनि शपथ लिएका छन् ।
शुक्रबार दिउँसो प्रदेश प्रमुख नजिर मियाँसमक्ष उनीहरूले शपथ लिएका हुन् । त्यसअघि मुख्यमन्त्री खगराज भट्टले शपथ लिएका थिए ।
सन्तोश शर्मा थापा–सामाजिक विकास मन्त्री, चक्र बहादुर मल्ल– आर्थिक मामिला मन्त्री, दमन भण्डारी–भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री र जानकी ऐर बम आर्थिक मामिला राज्यमन्त्रीको शपथ लिएका हुन् ।
मुख्यमन्त्री नियुक्त भएका भट्ट नेपाली कम्युनिस्ट पार्टी(नेकपा)का प्रदेशसभा संसदीय दलका नेता हुन् । उनी नेकपा एमाले र नेकपाबीच भएको तीन बुँदे सहमतिअनुसार दुई दलको गठबन्धनमा मुख्यमन्त्री बनेका हुन् ।
यसअघि बिहीबार नेपाली कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाहले मुख्यमन्त्री पदबाट राजीनामा दिएका थिए ।
त्यसपछि प्रदेश प्रमुख मियाँले आज भट्टलाई मुख्यमन्त्री नियुक्त गरेका थिए ।





