काठमाडौँ, साउन २९ गते।
नेपाल सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सरकारी सूचना प्रवाहलाई थप व्यवस्थित, सरल र प्रभावकारी बनाइने बताएका छन्।
शिक्षा तथा खेलकुद मन्त्रालयमा विभिन्न सञ्चारमाध्यमका सम्पादक तथा प्रतिनिधिसँगको छलफलमा उनले सरकारका सबै काम कारबाही लोकतान्त्रिक मूल्य र मान्यताअनुसार नै हुने स्पष्ट पारे।
मन्त्री पोखरलेले जनताका दैनिक आवश्यकतालाई केन्द्रमा राखेर सुशासन र पारदर्शितालाई सरकारले प्राथमिकता दिएको बताए।
विश्वविद्यालयका पदाधिकारी नियुक्ति पारदर्शी र निष्पक्ष रूपमा गरिएको उल्लेख गर्दै मन्त्री पोखरेलले विश्वविद्यालयलाई स्वायत्तता प्रदान गर्ने तथा शैक्षिक गुणस्तर अभिवृद्धि र शिक्षा क्षेत्रमा समयसापेक्ष नीतिगत सुधारमा मन्त्रालय केन्द्रित रहेको जानकारी दिए।
छलफलमा सहभागी सम्पादक तथा प्रतिनिधिले सरकारी सूचना प्रवाहलाई पारदर्शी, सहज र प्रभावकारी बनाउँदै सरकार र सञ्चारमाध्यमबीचको सम्बन्ध थप सुमधुर बनाउनुपर्नेमा जोड दिए। उनीहरूले सरकारी सूचना प्रवाहलाई थप प्रभावकारी बनाउन सरकार र सञ्चारमाध्यमबिचको सम्बन्धलाई फराकिलो बनाउन सुझाव दिए।
सम्पादक तथा प्रतिनिधिले सरकार र सञ्चारमाध्यमबिचको प्रभावकारी सम्बन्धले नै लोकतन्त्र र सुशासन प्रवर्द्धनमा योगदान पुर्याउने भएकाले अन्तर–मन्त्रालयका गतिविधि, सरकारी निर्णय तथा सूचनामा सञ्चारमाध्यमको सहज पहुँच सुनिश्चित गर्नुपर्नेमा आवश्यकता औँल्याए।
छलफलमा विद्यालय शिक्षा र उच्च शिक्षालाई व्यावहारिक, वैज्ञानिक तथा जनमुखी बनाउन दीर्घकालीन सुधार आवश्यक रहेको तथा शिक्षा प्रणाली सुधारका लागि विद्यालय शिक्षाको नीतिमा आवश्यक नीतिगत परिवर्तन आवश्यक रहेको उनीहरूको सुझाव थियो।





