स्वास्थ्य बीमा अब अनलाइन मार्फत मात्रै हुने



काठमाडौं, साउन २९ गते ।

स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत नयाँ आबद्धता, नवीकरण तथा बीमितको विवरण अद्यावधिक गर्ने काम अब अनलाइन मार्फत मात्रै हुने भएको छ ।

बोर्डका अनुसार आज (२०८३ साउन २९) देखि स्वास्थ्य बीमासम्बन्धी विभिन्न सेवा अनलाइनबाटै लिन सकिने भएको हो ।

बोर्डले सूचना जारी गर्दै स्वास्थ्य बीमा कार्यक्रमको नयाँ आबद्धता, बीमालेख नवीकरण लगायतका कार्यका लागि डिजिटल प्रणाली प्रयोगमा ल्याइएको जनाएको हो ।

‘विद्युतीय माध्यमबाट स्वास्थ्य बीमामा आबद्धता तथा बीमालेख नवीकरणसम्बन्धी कार्यविधि, २०८३’ बमोजिम सञ्चालनमा ल्याइएको प्रणाली राष्ट्रिय परिचयपत्र (एनआईडी)सँग अन्तरआवद्ध गरिएको छ। एनआईडी नभएका परिवारका सदस्यले भने म्यानुअल रूपमा डिजिटल विवरण पेश गर्न सक्ने व्यवस्था गरिएको छ ।

बोर्डका अनुसार राष्ट्रिय परिचयपत्र नभएका व्यक्तिले भने तत्कालका लागि अन्य परिचयपत्रका आधारमा प्रक्रिया अघि बढाउन सक्ने व्यवस्था गरिएको छ ।

बोर्डका अनुसार अब स्वास्थ्य बीमाको प्रिमियम इसेवा, खल्ती र कनेक्टआइपीएस मार्फत भुक्तानी गर्न सकिनेछ। व्यक्ति स्वयं वा दर्ता सहयोगीमार्फत परिवारलाई डिजिटल माध्यमबाट स्वास्थ्य बीमामा आबद्ध गर्न तथा बीमालेख नवीकरण गर्न सकिनेछ ।

स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध परिवारले आफ्नो विवरणमा कुनै परिवर्तन भएमा त्यसलाई समेत ई–पोर्टलमार्फत अद्यावधिक गर्न सक्नेछन् । परिवारका सदस्य थपघट, ठेगाना परिवर्तनलगायतका विवरण संशोधनका लागि सम्बन्धित प्रक्रिया पूरा गर्न सकिने बोर्डले जनाएको छ ।

स्वास्थ्य बीमा कार्यक्रमलाई थप व्यवस्थित, पारदर्शी र प्रविधिमैत्री बनाउने उद्देश्यले ई–पोर्टलको प्रयोग विस्तार गरिएको बोर्डले जनाएको छ । अनलाइन प्रणालीबाट सेवा प्रवाह हुँदा बीमितको विवरण व्यवस्थापन तथा नवीकरण प्रक्रियालाई सहज बनाउनेछ ।

बोर्डका अनुसार अनलाइन प्रणाली कार्यान्वयनमा आएपछि स्वास्थ्य बीमामा आबद्धता र नवीकरणको प्रक्रिया सहज हुनुका साथै सेवाग्राहीको समय बचत र सेवा प्रवाहमा पारदर्शिता बढ्ने अपेक्षा गरिएको छ ।

Scroll to Top