पाल्पा, साउन २९ गते ।
सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका–३, पैठेडाँडाबाट भन्सार छली ल्याइएका अवैध सामान र सवारी साधनसहित प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ ।
पक्राउ पर्नेमा सवारी चालक स्याङ्जाको वालिङ नगरपालिका–५ बस्ने ३७ वर्षीय याम बहादुर सार्की र सामानका धनी नवलपरासी ९पूर्व० गैडाकोट नगरपालिका–५ स्थायी घर भई हाल कास्कीको पोखरा महानगरपालिका–६ बस्ने ३७ वर्षीय दिनेश दर्जी रहेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार साउन गएराति अन्दाजी साढे १२ बजे प्रहरी चौकी दोभानबाट खटिएको चेकिङ टोलीले उक्त सामान बरामद गरेको हो। बुटवलबाट पोखरातर्फ जाँदै गरेको गण्डकी प्रदेश ०१–००१– ख ०१९३ नम्बरको ईभी गाडीलाई जाँच गर्ने क्रममा गैरकानुनी रूपमा भन्सार छली ल्याइएका करिब चार लाख पचहत्तर हजार रुपैयाँ मूल्य बराबरका विद्युतीय तथा अन्य सामानहरू भेटिएको प्रहरीले जनाएको छ ।
बरामद गरिएका सामानहरूमा टाटा कम्पनीको चार सेट एसी, टाटा कम्पनीकै आठ थान टिभी, एक थान एग्रो पेन रिलिफर र एक थान एलजी बारसाउन्ड रहेका छन्।
पक्राउ परेका दुवै जनालाई आवश्यक कारबाहीका लागि बरामद सामान र सवारी साधनसहित भैरहवा भन्सार कार्यालय, बेलहिया रुपन्देही पठाइएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक भिमलाल भट्टराईले जानकारी दिए ।





