सुस्तावासीले बनाएको बाँध बाढीले भत्कायो



काठमाडौं, साउन ३० गते ।

नवलपरासीको सुस्तावासीले दुई हप्ता लगाएर निर्माण गरेको बाँध बाढीले भत्काएको छ । सुस्ता गाउँपालिका ५ को थारुटोलामा बनेको बाँध शुक्रबार बाढीले बगाएको सुस्ता बचाउ संघर्ष समितिका संयोजक बाबु खानले जानकारी दिए ।

‘हामीले १०–१५ दिन लगाएर बनाएको बाँध हिजो रातीको बाढीले भत्कायो । २५–३० लाख जतिको श्रमदानबाट बनेको थियो,’ खानले अनलाइनखबरसँग भने, ‘सुस्तावस्ती नै अहिले जोखिममा छ ।’

सुस्ता जोगाउन संघीय सरकार, प्रदेश सरकार र गाउँपालिकाले पहल गर्नुपर्ने खानको माग छ । उनी भन्छन्, ‘बाँध त भत्कियो नै पुरै बस्ती खतरामा छ । सरकारको बेलैमा ध्यान जाओस् ।’

नवलपरासीको सुस्तामा नेपाल र भारतबीच सीमा विवाद छ । यो क्षेत्रमा भारतले सीमा अतिक्रमण गरेको स्थानीयवासी बताए ।

१५ साउनदेखि निर्माण शुरु भएको बाँध भत्किँदा कतैबाट गुहार नपाएको खान बताउँछन् । उनी भन्छन्, ‘तत्काल गुहार्न नपाउने हो भने हाम्रो बस्ती जोगाउन गाह्रो छ ।’

Scroll to Top