लहानमा तत्काल ट्रमा युनिट सञ्चालन हुन्छ : स्वच्छतामन्त्री मेहता



काठमाडौं, साउन ३० गते ।

स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले सिरहाको लहानस्थित अस्पतालमा तत्काल ट्रमा युनिट सञ्चालनमा ल्याइने घोषणा गरेकी छिन् ।

राजमार्गमा हुने दुर्घटना र घाइतेहरूको उपचारलाई मध्यनजर गर्दै मन्त्री मेहताले यस्तो प्रतिबद्धता व्यक्त गरेकी हुन् ।

लहानमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री मेहताले पूर्ण क्षमताको ट्रमा सेन्टर निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन ९डिपिआर०, भवन निर्माण र विशेषज्ञ चिकित्सकको व्यवस्थापन गर्न समय लाग्ने भएकाले तत्कालका लागि ‘ट्रमा युनिट’ मार्फत सेवा सुचारु गर्न लागिएको जानकारी दिइन् ।

उनका अनुसार प्रदेश सरकारले हालै २९ जना विशेषज्ञ चिकित्सकहरू पठाइसकेको छ ।

‘ट्रमा सेन्टर एक दीर्घकालीन प्रक्रिया हो, जसमा बहुविशेषज्ञ चिकित्सकहरू आवश्यक पर्छन् । तर लहान राजमार्गमा अवस्थित भएको र यहाँ सिटी स्क्यान, ब्लड बैंक तथा आँखा अस्पताल जस्ता पूर्वाधारहरू उपलब्ध रहेकाले हामी तत्काल ट्रमा युनिट शुरु गर्न सक्छौं,’ उनले भनिन्, ‘विगतको १८ अर्ब रुपैयाँ बक्यौतामध्ये फागुनसम्मको भुक्तानी भइसकेको छ । बीमाका केही प्याकेजहरू अवैज्ञानिक रहेकाले त्यसलाई पुनरावलोकन ९रिभ्यु० गर्ने काम भइरहेको छ ।’

स्वास्थ्य बीमाको सन्दर्भमा उठेका प्रश्नहरूको जवाफ दिँदै मन्त्री मेहताले बीमा कार्यक्रम पूर्ण रूपमा बन्द नभएको स्पष्ट पारिन् । निजी अस्पतालहरूमा मात्र बीमा सेवा रोकिएको र सरकारी अस्पतालहरूमा यो यथावत रहेको जानकारी उनले दिइन् ।

Scroll to Top