सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारलाई प्राथमिकता : शिक्षामन्त्री



काठमाडौं, भदौ २ गते ।

शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारलाई प्राथमिकतामा राखेर काम गर्ने बताएका छन् ।

काठमाडौंका विभिन्न सामुदायिक विद्यालयको स्थलगत अवलोकनपछि मन्त्री पोखरेलले विद्यालयको वास्तविक अवस्था तथा सरोकारवालाबाट प्राप्त सुझावलाई शिक्षा सुधारका नीतिमा समेटिने बताए ।

उनले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि आवश्यक नीतिगत तथा व्यावहारिक पहल गरिने उल्लेख गरे ।

मन्त्री पोखरेलले राम आधारभूत स्कुल, मदन आश्रित आदर्श मावि, बाल विकास आधारभूत स्कुल र गणेश माविको अवलोकन गरेका थिए । त्यस क्रममा उनले विद्यालयको शैक्षिक अवस्था, पठनपाठन, व्यवस्थापन, पूर्वाधार तथा विद्यार्थीका समस्या र आवश्यकताबारे जानकारी लिए ।

अवलोकनका क्रममा मन्त्री पोखरेलले प्रधानाध्यापक, शिक्षक तथा विद्यार्थीसँग प्रत्यक्ष अन्तरक्रिया गर्दै विद्यालयमा देखिएका समस्या, चुनौती र सुधारका आवश्यकताबारे जानकारी लिए ।

मन्त्रालयका अनुसार सामुदायिक विद्यालयको अवस्था प्रत्यक्ष रूपमा बुझ्न विद्यालयमै पुगेर शिक्षक, विद्यार्थी तथा विद्यालय व्यवस्थापनसँग संवाद गर्ने अभियानलाई आगामी दिनमा पनि निरन्तरता दिइनेछ ।

मन्त्री पोखरेलले सोमबारदेखि काठमाडौंका सामुदायिक विद्यालयको स्थलगत अवलोकन सुरु गरेका हुन् ।

Scroll to Top