बञ्चरेडाँडाका स्थानीय आन्दोलित : फोहोरका गाडी एक घण्टा रोकिए



काठमाडौं, भदौ ६ गते ।

बञ्चरेडाँडाका स्थानीयले काठमाडौं उपत्यकाबाट फोहोर बोकेर गएको गाडीलाई एक घण्टा रोकेका छन् । वैज्ञानिक प्रविधिबाट फोहोर व्यवस्थापन नभएकाले गाउँभरी दुर्गन्ध फैलिएपछि स्थानीय आन्दोलित भएका हुन् ।

विगतको सहमति पनि कार्यान्वयन नभएकाले आन्दोलनमा उत्रन बाध्य भएको सिसडोल बन्चरे डाँडा फोहोर व्यवस्थापन सरोकार केन्द्रका अध्यक्ष निरञ्जन सन्जेलले बताए । ‘आज बिहान १ घण्टाको लागि बञ्चरेडाँडामा रोकेका हौं । १५ दिन भित्र माग सम्बोधन नभए फोहोर खन्याउन रोक लगाउँछौं’, उनले भने, ‘फोहोर र मान्छे सँगै बस्ने स्थिति छैन ।’

बञ्चरे डाँडाको फोहोरको लिच्चेड बगेर खोलामा मिसिएको छ । कुहिने र नकुहिने फोहोर नछुट्याउदा २० वर्षको लागि बनाएको ल्यान्डफिल साइटको लिच्चेडले ड्याम्प भरिएको छ । ‘अन्तर्राष्ट्रिय मापदण्ड अनुसार प्रभावित क्षेत्रको जग्गा अधिग्रहण हुनुपर्‍यो । लिच्चेडको व्यवस्थापन गर्नुपर्‍यो’, उनले भने, ‘यहाँको स्थानीयको स्वास्थ्य र शिक्षाको विशेष व्यवस्था राज्यले गर्नुपर्‍यो । रोजगारको प्रबन्ध हुनुपर्‍यो ।’

१५ दिनभित्र यी माग पूरा नभए फोहोर विसर्जनमा रोक लगाउने चेतावनी स्थानीयले दिएका छन् ।काठमाडौं उपत्यकासहित २१ वटा पालिकाको फोहोर सिसडोल–बञ्चरेडाँडा लैजाने गरिएको छ ।

२० वर्षका लागि बनाइएको ल्यान्डफिल साइटमा फोहोरको चुली बनेको छ । फोहोरले बञ्चरेडाँडा पनि सिसडोल झैं डम्पिङ साइट भएको छ ।

धादिङको धुनिवेशी नगरपालिका र नुवाकोटको ककनी गाउँपालिकाको सिमाना बञ्चरेडाँडामा विगत ४ वर्षदेखि फोहोर फाल्न थालिएको हो । यसअघि १७ वर्षसम्म सिसडोलमा फोहोर फालिएको थियो ।

फोहोरका कारण गाउँभर क्यान्सर, मुटु, मिर्गौला जस्ता प्राणघातक रोगी भेटिन्छन् । झाडापखाला, टाइफाइड, श्वासप्रश्वास, छालालगायतका बिरामी घरैपिच्छे छन् । अनाज उत्पादनमा ह्रास र पशुपंक्षी पालनमा असर परेको स्थानीयको गुनासो छ ।

Scroll to Top