द पब्लिक टुडे
गौशाला, भदौं ६ गते ।
सीमापार अपराध र अवैध गतिविधि नियन्त्रणका लागि नेपाल र भारतका सीमावर्ती जिल्लाका प्रशासनिक तथा सुरक्षा अधिकारीबीच सहकार्य थप प्रभावकारी बनाउने सहमति भएको छ । शनिबार महोत्तरीमा सम्पन्न नेपाल–भारत सीमावर्ती जिल्ला समन्वय समितिको बैठकमा लागुऔषध, तस्करी, मानव बेचबिखन, अवैध आप्रवासनदेखि सीमा स्तम्भ व्यवस्थापनसम्मका विषयमा छलफल भएको हो ।
महोत्तरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव र भारतको सीतामढीका डिएम तनय सुल्तानियाको संयुक्त अध्यक्षतामा भएको बैठकमा अघिल्लो बैठकका निर्णय तथा प्रगतिसमेत समीक्षा गरिएको थियो । बैठकमा महोत्तरी, सर्लाही र रौतहटका प्रशासनिक तथा सुरक्षा अधिकारीसहित सीतामढीका सुरक्षा अधिकारी र प्रतिनिधि सहभागी थिए ।

बैठकमा सीमापार हुने लागुऔषध तथा मनोप्रभावी पदार्थको अवैध कारोबार नियन्त्रणलाई प्राथमिकताका साथ उठाइएको थियो । त्यस्तै, अपराध तथा तस्करी नियन्त्रण, अवैध हतियार र गोलीगठ्ठाको ओसारपसार रोक्ने, चोरी भएका सवारीसाधन तथा चोरीका सम्पत्ति सीमापार हुन नदिने विषयमा दुवै देशका सुरक्षा निकायबीच समन्वय गर्ने सहमति भएको महोत्तरीका प्रमुख जिल्ला अधिकारी यादवले बताए ।
मानव बेचबिखन तथा अवैध आप्रवासन नियन्त्रणसँगै तेस्रो मुलुकतर्फ हुने अनधिकृत आवतजावत रोक्न पनि दुवै पक्षले संयुक्त रूपमा काम गर्ने पनि बैठकमा प्रतिबद्धता व्यक्त गरिएको छ । आवश्यकताअनुसार सम्बन्धित निकायबीच सूचना आदानप्रदान तथा संयुक्त टोलीमार्फत नियन्त्रणका प्रयास अघि बढाउने विषयमा समेत छलफल भएको प्रमुख जिल्ला अधिकारी यादवले बताए ।

बैठकमा तस्करी तथा अवैध व्यापार नियन्त्रणसँगै विपद् व्यवस्थापन, आपत्कालीन अवस्थामा समन्वय, सीमा पूर्वाधार र सीमा स्तम्भ व्यवस्थापन, सूचना आदानप्रदान, संयुक्त गस्ती तथा सीमा निगरानीका विषयसमेत उठेका थिए ।
यस क्रममा हालै नेपालका केही किसान भारतमा खाद्यमल लिन गएको अवस्थामा भारतीय सुरक्षा निकायबाट पक्राउ परेको विषय पनि नेपाली सुरक्षा अधिकारीहरुले उठाएको थियो । उक्त घटनाबारे भारतीय पक्षले गम्भीर ध्यानाकर्षण भएको जनाउँदै सम्बन्धित सुरक्षा निकायलाई आवश्यक निर्देशन दिने र आगामी दिनमा सहज वातावरण निर्माण गर्ने प्रतिबद्धता जनाएको प्रजिअ यादवले बताए ।

बैठकमा सर्लाहीका प्रमुख जिल्ला अधिकारी विजयराज सुवेदी, रौतहटका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुषालसहित तीनै जिल्लाका सुरक्षा निकायका प्रमुख तथा भारतको सीतामढीका सुरक्षा अधिकारी र प्रतिनिधिहरूको सहभागिता थियो ।





