काठमाडौं, भदौ ६ गते ।
नेपाली कम्युनिष्ट पार्टीका नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० दलाल पुँजीपति वर्गको मुख्य प्रतिनिधि भएको आरोप लगाएका छन् ।
पार्टीको कोशी प्रदेश समितिले शनिबार आयोजना गरेको पार्टी एकता तथा प्रशिक्षण कार्यक्रममा उनले दलाल पुँजीपति वर्गको मुख्य प्रतिनिधिले नै नेपालको सत्ता कब्जा गरेको आरोप लगाएका हुन् ।
२०६२र६३ को परिवर्तनपछि नेपाली कांग्रेस दलाल पुँजीपति वर्गको मुख्य प्रतिनिधिका रूपमा रहेकोमा अहिले सत्तारुढ दल ९रास्वपा० त्यस्तो शक्तिका रूपमा अघि आएको उनको दाबी छ । उनले कम्युनिष्ट पार्टीको मुख्य वर्गशत्रु नै अब रास्वपा रहेको समेत बताए ।
‘हिजो राजतन्त्र रहुञ्जेल हामी मुख्य शत्रु नै भन्थ्यौं । अब अहिले यो संसदीय व्यवस्था छ । संसदीय व्यवस्था भएको हुनाले हामीले मुख्य शत्रु भन्नुभन्दा पनि मुख्य प्रतिद्वन्द्वी भन्छौं, हिजो नेपाली कांग्रेस थियो एकबेलामा,’ खनालले थप भने, ‘खासगरी अब ६२र६३ को परिवर्तनपछिको अवधिमा मुख्य दलाल पुँजीपति वर्गको मुख्य प्रतिनिधि हुन्थ्यो । अहिले त्योभन्दा बढी रास्वपा दलाल पुँजीपति वर्गको मुख्य प्रतिनिधि भएर प्रकट भएको छ र सत्ता उसको हातमा छ । उसले व्यापक दमन–मर्दन सुरु गरेको छ ।’
सरकारले ल्याएको नीति, कार्यक्रम र बजेटले आम जनता तथा तल्लो वर्गको हित नगरेको उनको आरोप छ । सरकारका आर्थिक नीतिहरू माथिल्लो वर्गको हितमा केन्द्रित रहेको उनको दाबी छ ।
उनले पछिल्लो निर्वाचनमा कम्युनिस्ट शक्तिले व्यहोरेको पराजय सामान्य हार नभएको बताए । उनले कम्युनिष्ट पार्टीका नेतृत्वले विगतमा गरेका कमजोरीका कारण सर्मनाक हार व्यहोर्नुपरेको बताए ।
बाह्य शक्तिको प्रभाव भएपनि त्यसलाई गौण कारणका रूपमा मात्रै हेर्नुपर्ने उनको भनाइ छ । विगतमा कम्युनिस्ट पार्टीसँग जोडिएका ठूलो संख्याका कार्यकर्ता तथा समर्थकमा राजनीतिक नेतृत्वप्रति व्यापक असन्तुष्टि बढेको उनले बताए ।
‘उसले जुन नीति कार्यक्रम ल्यायो, त्यसले आम जनता, तल्लो वर्गका जनताको हितमा एउटा पनि छैन, नीति । सबै माथिल्लो वर्गको हितमा ल्याएको छ । बजेट ल्यायो, जम्मै माथिल्लो वर्गको हितमा ल्याएको छ । यी कर भारहरू हेर्नुस्,’ उनले भने, ‘यति धेरै कर भारहरू अहिले जनतामाथि थोपरिएको छ, त्यो माथिल्लो वर्गको हितमा मात्रै छ । त्यसो हुनाले यतिबेलाको अवस्थामा वर्गीय रुपले यो मुख्य प्रतिद्वन्द्वी शक्तिको रुपमा चाहिँ हाम्रासामु आएको छ ।’





