स्रोत नखुलेको ५५ लाख ९० हजारसहित दुई जना पक्राउ



काठमाडौं, असार ३२ गते ।

डोल्पामा स्रोत नखुलेको रकमसहित दुई जना पक्राउ परेका छन् । त्रिपुरा सुन्दरी नगरपालिका–१ स्थित त्रिपुराकोटबाट स्रोत नखुलेको ५५ लाख ९० हजार रुपैयाँसहित २ जनालाई सशस्त्र प्रहरीले नियन्णमा लिएको हो ।

ठूलीभेरी नगरपालिका–३ दुनैबाट त्रिपुरा सुन्दरी–७ छ्ल गाउँतर्फ जाँदै गरेको भे१३प ९२६५ मोटरसाइकलाई जाँच गर्ने क्रममा उक्त रकमसहित दुई जना पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा मोटरसाइकलमा सवार ठूलीभेरी नगरपालिका–७ का ३२ वर्षीय विष्णुलाल रोकाया र ४२ वर्षीय भक्तिचन्द्र रोकाया रहेका छन् । उनीहरुले बोकेको झोलामा उक्त रकम फेला परेको सशस्त्रले जनाएको छ ।

भेरी करिडोर सडकखण्ड अन्तर्गत त्रिपुराकोटमा सशस्त्र प्रहरी बल नेपाल नं. ४६ गुल्म डोल्पा, नेपाल प्रहरी तथा जिल्ला प्रसाशन कार्यलयको प्रतिनिधिसहितको संयुक्त टोलीले चेकप्वान्ट खडा गरी जाचँ गरेको थियो । सोही क्रममा उक्त रुपैयाँसहित उनीहरुलाई पक्राउ गरिएको सशस्त्रले जनाएको छ ।

नियन्त्रणमा लिइएका दुवैजनालाई बरामद रकमसहित आवश्यक अनुसन्धानको लागि प्रहरी चौकी त्रिपुराकोटमा बुझाइएको छ।

Scroll to Top