काठमाडौं, साउन १३ गते ।
संसदीय सुनुवाइ समितिको बैठक आज बस्दै छ । आजको बैठकमा प्रमुख निर्वाचन आयुक्तका लागि प्रस्तावित मानबहादुर कार्कीको सुनुवाइ हुनेछ ।
सुरुमा उनीविरुद्ध उजुरी दिने उजुरीकर्तासँग छलफल गर्ने र त्यसपछि कार्कीलाई समितिसमक्ष आमन्त्रण गरी सुनुवाइ गरिने संघीय संसद सचिवालयले जनाएको छ ।
त्यसका लागि सुनवाइ समितिको बैठक आज बिहान सवा ११ बजे सिंहदबारमा बोलाइएको छ ।
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त कार्कीको नियुक्तिसम्बन्धी प्रक्रिया तथा नैतिक आचरण र संवैधानिक पदका लागि आवश्यक योग्यताबारे प्रश्न उठाउँदै संसदीय सुनुवाइ समितिमा उजुरी परेको छ ।
समितिले मंगलबार आयुक्तमा प्रस्तावित गुरुप्रसाद वाग्ले र राजीव सुब्बालाई आमन्त्रण गरी सुनुवाइ गरेको थियो ।
संवैधानिक परिषद्को गत असार १९ गतेको बैठकले प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्की तथा आयुक्तहरुमा गुरुप्रसाद वाग्ले (ओखलढुंगा) र डा. राजीव सुब्बा (काठमाडौं)को नाम सिफारिस गर्ने निर्णय गरेको थियो ।
संसदीय सुनुवाइ समितिले नाम अनुमोदन गरेपछि प्रमुख आयुक्त र आयुक्तलाई राष्ट्रपतिले नियुक्त गर्ने व्यवस्था छ ।
यसैबीच संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक पनि आज बस्दै छ ।
बिहान ११ बजे बस्ने बैठकमा ‘आर्थिक वर्ष २०८३/८४ को वार्षिक कार्ययोजनाका सम्बन्धमा छलफल गर्ने कार्यसूची छ ।





