विद्युत् महसुल घटाउन समिति गठन

File Photo



काठमाडौं, साउन १३ गते ।

नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समितिले विद्युत् महसुल पुनरावलोकन गर्न समिति गठन गरेको छ । नयाँ दर सिफारिसका लागि सञ्चालकले समिति गठन गरेको हो ।

ऊर्जामन्त्री विराजभक्त श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले विद्युत्को अधिकतम उपयोग बढाउने, घरायसी उपभोक्तालाई सहुलियत उपलब्ध गराउने तथा बढी विद्युत् खपत गर्ने उत्पादनमूलक उद्योगलाई उपयुक्त महसुलमा विद्युत् उपलब्ध गराउने उद्देश्यले अध्ययन समिति गठन गर्ने निर्णय गरेको हो ।

सञ्चालक समितिका सदस्य अंशु किरण शाहीको संयोजकत्वमा गठित समितिमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका एक प्रतिनिधि, नेपाल उद्योग वाणिज्य महासंघका एक प्रतिनिधि, ऊर्जा, उपभोक्ता तथा वित्त क्षेत्रका तीन विज्ञ तथा नेपाल विद्युत् प्राधिकरणको वितरण तथा ग्राहक सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक सदस्य सचिव रहनेछन् । समितिलाई १५ दिनभित्र नयाँ विद्युत् महसुलसम्बन्धी प्रतिवेदन पेस गर्ने जिम्मेवारी दिइएको छ ।

त्यसैगरी, प्राधिकरणका विगतका खरिद प्रक्रिया तथा सञ्चालित परियोजनासम्बन्धी विभिन्न माध्यमबाट प्राप्त उजुरी र गुनासोको छानबिन गर्न अर्को समिति पनि गठन गरिएको छ ।

सञ्चालक समितिका सदस्य शम्भु केसीको संयोजकत्वमा गठन गरिएको उक्त समितिमा प्राविधिक, कानुन तथा खरिद क्षेत्रका तीन विज्ञ र प्राधिकरणले तोकेको एक उपकार्यकारी निर्देशक सदस्य सचिव रहनेछन् ।

छानबिन समितिलाई दुई महिनाभित्र प्रतिवेदन बुझाउने कार्यादेश दिइएको छ । बैठकका निर्णयले विद्युत् महसुल पुनरावलोकनसँगै प्राधिकरणका खरिद प्रक्रिया र परियोजनामा पारदर्शिता तथा सुशासन सुदृढ गर्ने अपेक्षा गरिएको छ ।

Scroll to Top