नागरिकले ग्यासका लागि कहिलेसम्म सास्ती भोग्नुपर्ने हो ?

फाइल फोटो



काठमाडौँ, साउन २५ गते ।

खाना पकाउने ग्यासको अभावका सर्वसाधारणले भोगिरहेको सास्ती तत्काल अन्त्य गर्न सरकारसँग सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद लिमा अधिकारी आचार्यले माग गरेकी छिन् ।

सोमबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै सांसद अधिकारीले ग्यासका लागि नागरिकले खाली सिलिन्डर बोकेर मध्यरातसम्म लाइनमा बस्नुपर्ने अवस्था आउनु सरकारको गैरजिम्मेवारीपन भएको बताइन् ।

‘आज घरघरमा भान्छामा साँझ–बिहानको छाक टार्न धौ–धौ परेको छ। सर्वसाधारण नागरिक खाली ग्यास सिलिन्डर काँधमा बोकेर मध्यरातसम्म लाइनमा बस्न बाध्य छन्,’ उनले भनिन्, ‘आखिर नागरिकले यस्तो सास्ती कहिलेसम्म भोगिरहनुपर्ने हो ?’

उनले एकातिर देशमा उत्पादित विद्युत् खेर गइरहेको र अर्कोतिर खाना पकाउने ग्यासका लागि नागरिकलाई मध्यरातसम्म लाइनमा बस्नुपर्ने अवस्था आउनु विडम्बनापूर्ण भएको बताइन् ।

‘एकातिर देशमा उत्पादित बिजुली खेर गइरहेको छ, अर्कोतिर ग्यासकै लागि नागरिकलाई मध्यरातसम्म लाइनमा उभ्याइएको छ। योभन्दा ठूलो विडम्बना र सरकारको गैरजिम्मेवारीपन अरू के हुन सक्छरु,’ उनले प्रश्न गरिन्।

ग्यास आपूर्तिमा पटकपटक समस्या देखिइरहेको अवस्थामा सरकारले वैकल्पिक ऊर्जाको प्रयोगलाई प्राथमिकता दिनुपर्नेमा अधिकारीको जोड थियो । ग्यासको अभावबाट नागरिकलाई राहत दिने हो भने ग्यासको लाइनमा उभ्याउनेभन्दा इन्डक्सन चुलो वितरण गर्ने योजना तत्काल ल्याउनुपर्ने माग उनले गरिन् ।

उनले विद्युतीय चुलोको प्रयोगलाई सहज र सुलभ बनाउनुपर्नेमा समेत जोड दिइन् । विद्युत् खपत बढाउने नाममा बनाइएका नीतिले वैकल्पिक इन्धनको प्रयोगलाई निरुत्साहित गरिरहेको भए त्यसबारे पनि सरकार गम्भीर हुनुपर्ने उनको भनाइ छ ।

सांसद अधिकारीले नागरिकको भान्सा सहज बनाउने विषयलाई सरकारले प्राथमिकतामा राख्नुपर्ने बताउँदै ‘स्वदेशी ऊर्जा, स्वदेशी भान्सा’ भन्ने आफूहरुको पूर्वप्रतिबद्धता व्यवहारमा कार्यान्वयन गर्न आग्रह गरिन् ।

‘यदि ग्यासको यो सास्तीबाट नागरिकलाई साँच्चीकै राहत दिने हो भने अब ग्यास सिलिन्डरको लाइन होइन, इन्डक्सन चुलो बाँड्ने योजना सरकारले तत्काल ल्याओस्’, उनले भनिन्, ‘सरकार नागरिकको भान्सा सहज बनाउने काममा तत्काल लागोस्। स्वदेशी ऊर्जा, स्वदेशी भान्सा’, हाम्रो साझा प्रतबिद्धता भन्ने हामीले नागरिकलाई गरेको वाचा अहिले उनीहरूले सम्झिरहेका छन् । जनताप्रतिको यो प्रतिबद्धता सरकारले नभूलोस् ।’

Scroll to Top