काठमाडौं, भदौ ३१ गते ।
पृथ्वी राजमार्गस्थित कृष्णभिरमा भोलि बिहीबार बिहान ६ बजेदेखि दुईतर्फी यातायात सञ्चालन गर्ने तयारी छ ।
राजधानीको लाइफलाइन मानिने मुख्य राजमार्गमा साढे दुई सातासम्म नियमित यातायात नचल्दा करोडौं घाटा बेहोरिरहेका यातायात व्यवसायी मर्मतपछि यातायात खुल्ने खबरसँगै आशावादी बनेका छन् ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले सडक पुनस् सुरु भएसँगै पृथ्वी राजमार्ग हुँदै आफ्नो पूर्ववत सेवा सञ्चालन गर्न सकिने जानकारी आफ्ना सदस्य संघ, समिति, कम्पनी र प्रालिलाई गराएको छ ।
महासंघका अनुसार १८ दिनसम्म राजमार्ग हुँदै करोडौं रुपैयाँ घाटा बेहोर्नुपरेको छ । साथै, यात्रुलाई समयमा गन्तव्य पुर्याउन समेत कठिनाइ उत्पन्न भएको छ । कृष्णभिर १४ भदौमा भासिएको थियो । १ सय मिटर सडक भासिएको हो । जसमा नयाँ ट्र्याक खोलेर यातायात सञ्चालनमा ल्याउन १८ दिन लागेको हो ।
यसबीच वैकल्पिक राजमार्गबाट यातायात सञ्चालनमा ल्याइएको भए पनि ठूला सवारीसाधन र लामो रुटको यातायात प्रभावित बनेको छ ।





