काठमाडौं, भदौ ३१ गते ।
नेपाली कांग्रेसका सभापति गगन थापाले रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछिको अवस्थामा सिर्जित विपद्बारे काम गर्नका लागि गठन हुन लागेको संसदीय समितिले तयार पार्ने प्रतिवेदनलाई सरकारले गम्भीरतापूर्वक लिनुपर्ने बताएका छन् ।
सिंहदरबारमा सम्पन्न सर्वदलीय बैठकपछि सञ्चारकर्मीसँगको कुराकानीमा उनले प्रधानमन्त्री वालने शाहले संसद् र संसदीय समितिको मर्यादा कायम राख्नुपर्नेमा जोड दिए ।
‘सम्माननीय प्रधानमन्त्रीजीको जुन खालको रवैया देखिन्छ, सकेसम्म संसद्लाई पूर्ण रूपमा बेवास्ता गर्ने, प्रमुख प्रतिपक्ष दलको नेताले बालेको बेलामा उहाँको उपस्थिति छ भन्ने लाग्दैन,’ उनले भने ।
सभापति थापाले संसदीय समितिलाई जिम्मेवारी दिएर काम लगाउने र समितिले तयार पारेको प्रतिवेदनलाई सरकारले बेवास्ता गर्ने अवस्था आउन नहुनेमा पनि जोड दिए ।
‘यत्रो संसदीय समिति हामीले बनाउने भनेका छौं, यत्रो जिम्मेवारी दिएका छौं । तर, प्रधानमन्त्रीजीले नै संसदीय समितिको मान र मर्यादा राख्नुभएन, यसरी नै हेपी राख्नुभयो, यसरी नै बेवास्तता गरिराख्नुभयो भने त्यो बेलामा के गर्ने हो त रु,’ थापाले भने, ‘त्यसैले रास्वपाका सभापतिजीलाई बैठक राखेकोमा धन्यवाद पनि भनेका छौं । सँगसँगै तपाईंकै दलको सरकार भएको, तपाईंकै दलका नेता प्रधानमन्त्री भएकाले यो कुराको पनि हेक्का राख्नुहोला भनेका छौं ।’
उनले आफूहरू सरकारलाई बिनासर्त समर्थन गर्दै संसदीय समितिमा बसेर काम गर्न तयार रहेको पनि बताए । समितिले प्रतिवेदन तयार गरेपछि त्यसलाई सरकारले ग्रहण गर्ने र त्यसका आधारमा आवश्यक काम गर्नुपर्ने सभापति थापाको भनाइ थियो ।
‘हामी त अनकन्डिसन सरकारलाई सपोर्ट गरिरहेका छौं । संसदीय समितिमा बसेर काम पनि गर्छौं । समितिले रिपोर्ट पनि तयार गर्ला,’ उनले भने, ‘तर, त्यो रिपोर्ट बुझ्ने, ग्रहण गर्ने वा त्यसको आधारमा काम गर्ने कुरामा प्रधानमन्त्रीले सामान्य छलफलमा पनि रुचि नराख्ने अवस्था नहोस् ।’
सभापति थापाले संसदीय समिति गठन हुनुअघि नै प्रधानमन्त्रीलाई समितिको कार्यक्षेत्र र जिम्मेवारीबारे जानकारी गराउनुपर्ने बताए । उनका अनुसार विगतको संसदीय अभ्यासमा पनि समिति गठन गर्दा सरकार प्रमुखसँग संवाद गर्ने गरिएको थियो ।
सभापति थापाले सरकार र संसद्बीच समन्वय आवश्यक रहेको भन्दै अहिले नै प्रधानमन्त्रीसँग संवाद गरेर अघि बढ्नुपर्ने बताए ।
‘एकातिर हामी बैठक गरेर संसदीय समिति बनाउने, अर्कोतिर भोलि प्रधानमन्त्रीले त्यसलाई बेवास्ता गर्ने अवस्था नबनोस्,’ उनले भने, ‘यो सकारात्मक नोटमा भनेको हो । अहिले नै यसबारे कुरा गरिराख्दा उहाँहरूलाई पनि सजिलो हुन्छ ।’
उनले आफूहरू सरकारसँग मिलेर काम गर्न तयार रहेको स्पष्ट पार्दै संसदीय समितिको प्रभावकारिता कायम राख्न प्रधानमन्त्रीको समेत अपनत्व आवश्यक रहेको बताए ।





