काठमाडौं, भदौ ४ गते ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले केन्द्रीय समितिलाई तत्काल पूर्णता नदिने भएका छन् । रास्वपाको विधानले मनोनीतमार्फत केन्द्रीय समितिलाई पूर्णता दिने अधिकार सभापतिलाई दिएको छ ।
विधान अनुसार सभापति लामिछानेले ५१ जना केन्द्रीय सदस्य मनोनीत गर्न पाउने छन् । यस्तै, विधानले रिक्त रहेका पदमा पनि मनोनीतमार्फत पदपूर्ति गर्ने अधिकार सभापतिलाई दिएको छ ।
विधानअनुसार एक उपसभापति, एक महामन्त्री, दुई सहमहामन्त्री, एक प्रवक्ता, तीन सह–प्रवक्ता, एक कोषाध्यक्ष र दुई सह–कोषाध्यक्ष सभापतिले मनोनीत गर्नुपर्ने हुन्छ ।
सभापतिले मनोनीत गर्दा निश्चित समयसीमाभित्र गर्नुपर्ने भनेर विधानमा किटान नगरिएको हुँदा सभापतिलाई आफूअनुकूल मनोनीत गर्ने सुविधा लामिछानेसँग छ ।
विधानको त्यही सुविधाअनुसार नै क्रमबद्ध रूपमा सभापति लामिछानेले रिक्त पदपूर्ति गर्ने भएका छन् ।
केन्द्रीय समितिलाई पूर्णता दिने समयसीमा पाँच वर्षसम्म नै रहेकाले हतार नभएको संकेत सभापति लामिछानेले दिएका छन् ।
‘केन्द्रीय समितिलाई परिपूर्ण गर्ने भनेको पाँच वर्षभित्र गर्ने कार्य हो,’ बुधबार रास्वपा सांसदसँगको छलफलपछि पत्रकारसँग कुराकानी गर्दै सभापति लामिछानेले भने, ‘सभापतिलाई विधानले दिएको अधिकारअनुसार योग्य साथीहरूलाई क्रमशः ल्याउँदै जाने सिलसिलामा हामी छौं ।’
शुक्रबारका लागि बोलाइएको केन्द्रीय समिति बैठकको एजेन्डामा पदाधिकारी र केन्द्रीय समिति सदस्य मनोनीत गर्ने विषय पनि समेटिएको छ ।
तर, सभापति लामिछानेले बुधबार दिएको अभिव्यक्ति अनुसार भोलि बस्ने बैठकबाट सबै रिक्त पदमा मनोनीत हुने सम्भावना देखिदैन ।
‘भोलि चार जना गरौंला । पर्सी पाँच जना गरौंला । अर्को दिन १० जना गरौंला’, सभापति लामिछानेले संकेत गर्दै भनिसकेका छन् ।
नेताहरूका अनुसार रिक्त पदाधिकारीमध्ये उपसभापति र महामन्त्री एकरएक जना प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) पक्षबाट मनोनीत हुनेछन् । ५१ जना केन्द्रीय सदस्यमध्ये पनि १८ जना बालेन पक्षबाट हुने चर्चा छ ।
यद्यपि, बालेन पक्षबाट पदाधिकारी र केन्द्रीय सदस्यमा शुक्रबार कोही पनि मनोनीत नहुने दाबी गरिएको छ ।
प्रधानमन्त्री बालेननिकट एक नेताका अनुसार मधेशको अधिवेशनपछि मात्रै बालेनले नाम अघि सार्नेछन् ।
सभापति लामिछानेले अहिले यता–उताबाट भनेर नाम संकलन गर्ने काम नभएको बताए । ‘कसैले नाम दिने नै होइन यो । पार्टीले छलफल गर्ने हो । मलाई विभिन्न साथीहरूले प्रस्ताव गर्नुहुन्छ । हामी दुई धार भएको र नाम दिने भन्ने कुरालाई पूर्णतस् खारेज गर्छु,’ लामिछानेले भनेका छन् ।
भोलिको बैठक महाधिवेशनपछि दोस्रोपटक बस्न लागेको केन्द्रीय समिति बैठक हो । पहिलो बैठकमा मनोनीत गर्ने छलफलको एजेन्डा नै परेको थिएन ।
यसपटक बैठकको एजेन्डामा परेपनि प्रधानमन्त्री बालेन पक्षबाट भने कोही पनि मनोनीत नहुने नेताहरूको दाबी छ ।
‘मधेशमा अधिवेशन कस्तो हुन्छ, त्यहाँको अवस्था हेरेर मात्रै केन्द्रीय सदस्यमा पठाउने नाम निश्चित हुनेछन्,’ बालेन पक्षका एक नेताले भने ।
मधेश प्रदेशको अधिवेशन नसकेरै रास्वपाले केन्द्रीय महाधिवेशन गरेको थियो । मधेश प्रदेशका आठ जिल्लामध्ये पनि पर्साको मात्रै जिल्ला अधिवेशन सकिएको छ । मधेशका कतिपय वडा र पालिका तहका अधिवेशन पनि बाँकी नै छन् ।
मधेश यात्रामा निस्किँदै रवि
मधेशमा अधिवेशनको वातावरण बनाउन सभापति लामिछाने आफै ती जिल्लाको भ्रमण गर्ने तयारीमा रहेको नेताहरूले बताएका छन् ।
मधेशबाट प्रतिनिधित्व गर्ने एक रास्वपा सांसदका अनुसार सभापति लामिछानेले पर्साको ठोरीबाट मधेश यात्राको सुरु गर्ने र त्यहाँको वस्तुस्थिति अध्ययन गर्ने तयारी गरेका छन् ।
भदौ १२ पछि सभापति लामिछाने मधेश यात्रामा निस्कने ती सांसदले जानकारी दिए ।





