हुम्ला, भदौ ४ गते ।
पौडी खेल्ने क्रममा कर्णाली नदीमा डुबेर दुई जना बेपत्ता भएका छन् । हुम्लाको खार्पुनाथ गाउँपालिका–१ सुनाखाडास्थित कर्णाली नदीमा पौडी खेल्ने क्रममा बिहीबार दुई बालबालिका बेपत्ता भएका जिल्ला प्रहरी कार्यालयका प्रवक्ता युवराज ढकालले बताए ।
ढकालका अनुसार खार्पुनाथ–१ का रामचन्द्र रावलको १३ वर्षीय छोरा प्रशान्त रावल र बृख शाहीकी ११ वर्षीया छोरी अनु शाही नुहाउने क्रममा डुबेर बेपत्ता भएका हुन् ।
घटनाबारे खबर आएपछि खोजीका लागि जिल्ला प्रहरी कार्यालयबाट टोली परिचालन गरिएको प्रहरी प्रवक्ता ढकालले जानकारी दिए ।
कर्णाली नदीको तीव्र बहावले दुई बालबालिकालाई बगाएको हुनसक्ने भन्दै निरन्तर खोजी भइरहेको प्रहरी उनले बताए ।
बेपत्ता भएका दुवै जना मालिका माध्यमिक विद्यालयमा कक्षा ७ मा अध्ययनरत थिए । नदी किनारमा पौडी खेल्ने क्रममा दुवै बालबालिकालाई कर्णाली नदीको बहावले बगाएको खार्पुनाथ–१ का वडाध्यक्ष जयबहादुर शाहीले बताए ।
नदीमा पानीको बहाव तीव्र रहेकाले खोजीमा कठिनाइ भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक ९डीएसपी० शंकर खड्काले जानकारी दिए ।





