सडक विस्तारसँगै सवारी चाप उच्च



तनहुँ, भदौ २३ गते ।

पृथ्वीराजमार्गले देशका ठूला सहर जोड्ने भएकाले तनहुँ हुँदै दैनिक हजारौँ सवारीसाधन ओहोरदोहोर गर्छन् । पछिल्ला तीन आर्थिक वर्षको तथ्याङ्क हेर्दा जिल्लामा सडक दुर्घटनाको ग्राफ लगातार उकालो लागेको छ । दुर्घटनाको सङ्ख्या मात्र होइन, त्यसले निम्त्याएको मानवीय क्षति पनि उत्तिकै गम्भीर छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक प्रदीप थापाका अनुसार आर्थिक वर्ष २०८२/८३ मा ७८ वटा सवारी दुर्घटना भएका छन् । ती दुर्घटनामा ५७ जनाले ज्यान गुमाएका छन् भने ६५ जना गम्भीर र ४७ जना सामान्य घाइते भएका छन् ।

त्यसअघिको आर्थिक वर्ष २०८१/८२ मा ६२ दुर्घटनामा ६२ जनाको मृत्यु भएको थियो । ७६ जना गम्भीर र ४३ जना सामान्य घाइते भएका थिए । आर्थिक वर्ष २०८०/८१ मा ३९ दुर्घटनामा २२ जनाको मृत्यु, ५० जना गम्भीर र ५१ जना सामान्य घाइते भएका थिए ।

तथ्याङ्कले देखाउँछ कि दुई वर्षको अवधिमा दुर्घटनाको सङ्ख्या ३९ बाट बढेर ७८ पुगेको छ । अर्थात् दुर्घटना शतप्रतिशतले बढेको छ । यद्यपि गत आर्थिक वर्षमा दुर्घटनाको सङ्ख्या बढे पनि मृत्यु हुनेको सङ्ख्या अघिल्लो वर्षको तुलनामा केही घटेको छ ।

तीन आर्थिक वर्षमा जिल्लाभर एक सय ७९ वटा दुर्घटना भएका छन् । ती दुर्घटनामा एक सय ४१ जनाको मृत्यु, एक सय ९१ जना गम्भीर र एक सय ४१ जना सामान्य घाइते भएका छन् ।

किन बढ्दै छन् दुर्घटना ?

प्रहरीका अनुसार अधिकांश दुर्घटना पृथ्वीराजमार्ग र जिल्लाका भित्री सडकखण्डमा भएका हुन् । मुग्लिन पोखरा सडकखण्डअन्तर्गत पृथ्वीराजमार्गको तनहुँ खण्ड चार लेनमा विस्तार भएको छ । सडक राम्रो बनेसँगै तीव्र गतिमा सवारी चलाउँदा दुर्घटना बढेको प्रहरीको निष्कर्ष छ । यससँगै चालकको लापर्वाही पनि दुर्घटनाको अर्को प्रमुख कारण बनेको छ । तीव्र गति, जोखिमपूर्ण ओभरटेक, थकित अवस्थामा लामो दूरीको सवारी सञ्चालन, ट्राफिक नियमको बेवास्ता र मादक पदार्थ सेवन गरेर सवारी चलाउने प्रवृत्तिले दुर्घटना बढाएको प्रहरीको विश्लेषण छ ।

भित्री सडकखण्डमा भने साँघुरा सडक, अपर्याप्त सुरक्षा संरचना, सडक छेउमा रेलिङको अभाव तथा रातिको समयमा कमजोर दृश्यताले दुर्घटनाको जोखिम बढाउने गरेको देखिन्छ ।

गत आर्थिक वर्षको तथ्याङ्कले दुर्घटनाबाट सबैभन्दा बढी पुरुष प्रभावित भएको देखाउँछ । मृत्यु हुने ५७ जनामध्ये ४२ जना पुरुष छन् । गम्भीर घाइते र सामान्य घाइतेमा पनि पुरुषको सङ्ख्या महिलाभन्दा बढी छ ।

सडक विस्तारसँगै बढेको सवारी चाप

तनहुँ हुँदै गुड्ने सवारीसाधनको सङ्ख्या बर्सेनि बढिरहेको छ । निजी सवारीसाधन, मालवाहक ट्रक, यात्रुवाहक बस तथा मोटरसाइकलको चाप बढ्दै जाँदा दुर्घटनाको जोखिम पनि बढेको देखिन्छ । सडक पूर्वाधारको सुधारसँगै चालकको जिम्मेवारी, ट्राफिक अनुशासन र सडक सुरक्षाको चेतना समान रूपमा विकास हुन नसक्दा दुर्घटना न्यूनीकरणमा अपेक्षित सफलता मिल्न सकेको छैन ।

प्रहरी निरीक्षक थापाका अनुसार ट्राफिक प्रहरीले नियमित सवारी जाँच, गति नियन्त्रण, मादक पदार्थ सेवन परीक्षण, चालक सचेतना अभियान तथा विद्यालयस्तरमा ट्राफिक शिक्षा सञ्चालन गर्दै आएको छ । तर दुर्घटना न्यूनीकरणका लागि प्रहरीको प्रयास मात्र पर्याप्त नहुने उनको भनाइ छ ।

सडक निर्माण गर्ने निकाय, स्थानीय तह, सार्वजनिक यातायात व्यवसायी, चालक, यात्रु र सर्वसाधारण सबैले सडक सुरक्षालाई साझा जिम्मेवारीका रूपमा लिनुपर्ने आवश्यकता देखिएको उनले बताए ।

Scroll to Top